नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो मात्र नभइ बहुमत ल्याउने पार्टी बनाउने गरी लाग्न नेता–कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । उनले पार्टीलाई एक गराएर बहुमत ल्याउने गरी लाग्न आग्रह गरे । नव वर्ष २०८१ को अवसरमा कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले बुधबार भैरहवामा आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।
उनले भने, ‘साथीहरु ध्यान दिनुपर्ने कुरा के छ भने अहिलेको बेला हाम्रो पार्टी एक भएर हिंड्नुपर्ने अवस्था छ । एकआपसमा जे–जति मतभेदहरु छन्, ती सबैलाई थाती राखेर भए पनि पार्टीलाई एकताबद्ध बनाउन आवश्यक छ । अहिले हामीलाई अफ्ठयारो पार्ने स्थिति बनाइएको छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि पहल गरिरहेको बताए ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशील गुरुङले विमानस्थलको पूर्ण सञ्चालनका लागि पहल गरिदिन सभापति देउवासँग आग्रह गरे । उनले कांग्रेस नेतृत्वबाट विमानस्थल शिलान्यास र उद्घाटन भएको बताए ।
उनले भने, ‘चाँडोभन्दा चाँडो श्रम स्वीकृति, भिसा सेन्टर, हेल्थ सेन्टरको व्यवस्था गर्न र छिमेकी मुलुकसँग हवाई रुटका लागि पहल थाल्न आग्रह गर्दछु । हामी सभापतिज्यूप्रति निकै आशावादी छौं । ’उनले विमानस्थल सञ्चालनका लागि जोडदार रुपमा आवाज उठाउन देउवालाई आग्रह गरे ।