सुधारको बाटो- ८
पार्टीको नवौं महाधिवेशनपछि घनश्याम भूसालले एमालेमा व्यक्तिवादी चिन्तन र निर्णय हावी भयो भन्दै आएका थिए। चितवनमा भएको दसौं महाधिवेशनमा उनी उपाध्यक्षको उम्मेदवार भए। विजयी हुन भने सकेनन्।
पछि उनी नेकपा एकीकृत समाजवादीको महासचिव बने। नेकपा एमालेबाट छुट्टिएपछि आउँदो जेठ ३ देखि ७ गतेसम्म पहिलोपटक पार्टी महाधिवेशन गर्न लागेको समाजवादीको अबको राजनीतिक दिशा कस्तो हुने भन्नेबारे आजकल उनका छलफलहरू केन्द्रित हुन्छन्।
भूसाल नेपालको राजनीति बिग्रिनुमा ‘दलाल पुँजीवाद’ लाई कारण मान्छन्। दलाल पुँजीवाद सबैतिर छ भन्ने विश्वास राख्छन्।
सेतोपाटीको सुधारको बाटो शृंखलामा हामीले भूसालसँग यिनै विषय, समसामयिक राजनीतिक घटनाक्रम र राजनीतिक सुधारबारे केन्द्रित रहेर लामो कुराकानी गरेका छौं।
प्रस्तुत छ कुराकानीको सम्पादित अंश:
२०७९ पुस १० गते नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो। तर दुई महिनामै विघटन भयो। त्यति बेला किन गठबन्धन बनेको थियो, के कारण भत्कियो भनेर धेरैले थाहा पाएनन्। त्यो गठबन्धन किन बनेको थियो, किन भत्कियो?
त्यस्तो पनि होइन। त्यो गठबन्धन नबन्ने गरी नै डिजाइन भएको थियो।
त्यस कारण त्यहाँ भएको भए…भनेर त हामीले इतिहासको कुरा अनुमान मात्र गर्न सक्छौं। त्यो डिजाइन ओलीजीकै कारण भत्कियो। ओलीजीलाई म नै प्रधानमन्त्री हुँ भन्ने लागेन मात्रै, सार्वजनिक रूपमै त्यस्तो व्यवहार देखाउन थाल्नुभयो। अनि प्रधानमन्त्री प्रचण्डले अपमानबोध गर्नु स्वाभाविकै थियो।
यसले प्रधानमन्त्री प्रचण्डलाई त्यहाँबाट बाहिर निस्किएर विकल्प छन् कि छैनन् भनेर हेर्ने अवस्थामा पुर्याइदियो। मलाई लाग्छ, परिस्थितिले उहाँलाई त्यता धकेलिदियो।
त्यो गठबन्धन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित जसरी डिजाइन भएको थियो, त्यसमा एकीकृत समाजवादी आउँछ भने आओस् न त भनेर उहाँहरूले भनेको भए पनि, त्यतिखेर ओलीजीको जुन मनस्थिति थियो, त्यसले त्यो गठबन्धन अगाडि जान्थ्यो जस्तो लाग्दैन।
प्रधानमन्त्रीले नै त्यो महसुस गर्नुपरेको थियो भने एकीकृत समाजवादीसहितको गठबन्धन अगाडि जान्थ्यो भन्ने होइन। सुरूमै अवाञ्छित तत्त्वको प्रवेशले स्वाभाविक रूपमै एकीकृत समाजवादीले पनि अपमानबोध महसुस गर्थ्यो। त्यसैले त्यति बेलाको गठबन्धन ओलीजीको प्रदर्शनले टुट्यो भन्ने लाग्छ।